महेश बस्नेतको अग्नि सापकोटालाई चेतावनी – गुरिल्ला सभामुखले अदालतको समानान्तर अभ्यास गरे, उनको कुकर्मको हिसाव गर्छौ

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले युद्धकालिन गुरिल्लाको झझल्कोबाट अदालतको समानान्तर अभ्यास गरेको आरोप लगाउनुभएको छ ।

सभामुख सापकोटाले हिजो एमालेले कारवाहीको लागि सिफारिस गरेका १४ जना सांसदहरुलाई कारवाही गर्नु नपर्ने भनि अदातलको जस्तो फैसला गरि निर्णय गर्नुभएको थियो । पार्टीले कारवाहीको जानकारी संसद सचिवालयमा निवेदन दर्ता गराएपछि सभामुखले कारवाही गरेको सूचना जारी गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर सभामुखले कारवाही फिर्ता गराउने वा कारवाही गरेको सूचना जारी नगर्ने भन्ने कुरा गैरसंवैधानिक तथा माओवादीको युद्धकालिन झल्को दिने गरी सभामुखले फैसला गरेको भन्दै नेता बस्नेतले आक्रोस जनाउनुभयो ।

अन्तर्राष्ट्रिय रुपमा कुनै पनि देशमा नभएको गतिविधि वर्तमान गठबन्धनको सरकारले गरिरहेको उल्लेख गर्दै सांसद बस्नेतले उक्त सरकारको कदमको सारथी बनी सभामुख सापकोटा माओवादीको कार्यकर्ता बनेको आरोप लगाउनुभयो ।

सभामुखको राजनीतिक गतिविधिले आगामी दिनमा त्यो द्वन्द सदन र सडकमा समेत प्रकट हुने चेतावनी दिँदै नेता बस्नेतले दाँतको उपचार गरेको बहाना गरेर बसेको बेलामा कांग्रेसका नेता मोहन बस्नेतले अग्नि सापकोटा चाँडै जेल जान्छन् भनेर उदघोष गरिरहँदा उनले थप कुकर्म गरे बताउनुभयो । समयक्रममा यसको उचित हिसाब तिर्नै पर्ने समेत उहाँले आक्रोस जनाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रचण्ड, देउवा, माकुने, उपेन्द्र र बाबुरामको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । अदालतको सेटिङ्गमा परमादेश जारी गरियो, देउवा सत्तासिन भए, सवा महिना मन्त्री परिषद गठन हुन सकेन । चालू संसदको अधिवेशन हठात अन्त्य गरेर अन्तर्राष्ट्रिय रुपमा कुनै पनि लोकतान्त्रिक मुलुकले अभ्यास नगरेको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको हस्ताक्षरबाट पार्टी फोर्न पाउने अध्यादेश जारी गरियो । निर्वाचन आयोगको नियमावली र हस्ताक्षर सनाखत प्रक्रिया विवाद र अब्जेक्सनकाबीच बहुत तिब्र गतिमा टुङ्गाइयो । दल दर्ताको प्रक्रिया फास्ट ट्र्याकमा बैधानिकता प्रदान गरियो । संविधान, राजनैतिक दल सित सम्बन्धित कानून र प्रतिनिधि सभा नियमावली अनुसार गत बैशाख २७ गते सदनमा आफ्नो सरकारले विश्वासको मत लिने प्रक्रियालाई चुनौति दिदै पार्टीको ह्विप उलंघन गर्ने १४ सांसदहरुलाई केन्द्रीय कमिटी र संसदीय दलबाट आवश्यक प्रक्रिया पूरा गरी कारबाही गरी निष्कासन गरिएकोमा जनयुद्धबाट आएका गुरिल्ला सभामुख अग्नि प्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नु पर्नेमा अबैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द कालको झझल्को दिने गरी सर्वोच्च अदालतको समानान्तर अभ्यास गरेर न्यायधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन् । बिगतमा राजपाको सांसद सरिता गिरी, पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह लगायतलाई आफैले कारबाही गरेको, सूचना टाँस गरेको, प्रक्रियाको नजिरलाई समेत चुनौती दिएकाछन् । संसदीय इतिहासमा यो विभेदकारी र गैह्र संसदीय निर्णयको उनले पटक पटक जवाफ दिनै पर्छ । देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुकको विकासको गतिविधि रोक्ने र अनिर्णयको बन्धी बनिरहेको बेला अग्नि सापकोटाको कारण दलहरुको बीचमा द्वन्द झन बढाउने काम भैरहेको छ । आगामी दिनमा त्यो द्वन्द सदन र सडकमा समेत प्रकट हुनेछ । दाँतको उपचार गरेको बहाना गरेर बसेको बेलामा कांग्रेसका नेता मोहन बस्नेतले अग्नि सापकोटा चाँडै जेल जान्छन् भनेर उदघोष गरिरहँदा उनले थप कुकर्म गरेका छन् । समयक्रममा यसको उचित हिसाब तिर्नै पर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *