बालुवाटारमा काङ्ग्रेस एमालेको बैठक सकियो : यस्तो रह्यो छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली करिब साढे ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भएको छ । तर, कुनै निष्कर्षमा भने नपुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले छलफल सकारात्मक भएको बताउनु भयो। ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरूसँग दिउँसो पनि लामो छलफल भयो, अहिले पनि लामो छलफल भएको छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी सम्झौतालाई संसद्बाट निकास दिने कुरा गर्नुभएको छ ।’
मन्त्री कार्कीले छलफलमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा दोहोर्‍याएको बताउनु भयो । ‘उहाँहरुले पुरानै कुरा गर्नुभयो । हामीले जुन कुराले संसद्मा प्रवेश पाएका छैनौँ । त्यो समस्या समाधान नभइन्जेलसम्म हामीले संसद्मा आएर कुरा राख्ने सम्भावना रहदैन, त्यसैले संसद्मा पहिले हाम्रो सहभागिता हुने व्यवस्था गर्नुहोस्,’ भेटमा ओलीले भनेको उदृत गर्दै मन्त्री कार्कीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *