राप्रपा नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति गर्ने छैन : कमल थापा

काठमाडौँ — राप्रपा, नेपालका अध्यक्ष कमल थापाले अब राजा वा राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन् । पार्टी घोषणा कार्यक्रममा थापाले अब नयाँ विचार केन्द्रित राजनीति गर्ने बताए ।

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा थापाले राजसंस्थालाई सम्मान गर्ने तर त्यसलाई केन्द्रमा राखेर राजनीति नगर्ने घोषणा गरे । ‘राप्रपा, नेपाल आगामी दिनमा राजसंस्थालाई सम्मान गर्ने नीति अख्तियार गर्नेछ । तर, राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति होइन, जनताकेन्द्रित राजनीतिक गर्दछ,’ उनले भने ।

थापाले लोकतान्त्रमा आधारित राजनीति गर्ने बताए । ‘राप्रपा, नेपाल संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दछ । राप्रपा, नेपाल लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्दछ । यसमा कोही साथीहरू भ्रममा नपर्नको निमित्त आग्रह गर्दछु,’ उनले भने, ‘राजसंस्थाप्रति सम्मान जनतामा आधारित राजनीति र लोकतान्त्रिक प्रणाली अबको हाम्रो बाटो हुनेछ भन्ने कुरा निवेदन गर्न चाहन्छु ।’

पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मलाई स्मरण गरेका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भने नाम लिएनन् । उनले राष्ट्रिय एकीकरमा पृथ्वीनारायण शाह, प्रजातन्त्र स्थापनामा त्रिभुवन शाह, नेपालको आधुनिकीकरण र राष्ट्रियताको सम्बर्धनमा महेन्द्र शाह र पूर्वाधार विकासमा वीरेन्द्र शाहले पुर्‍याएको योगदानको उच्च मूल्यांकन र प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *