एमालेबाट छुट्टिएका माधव नेपालसहित नेताहरु चन्द्रागिरी रिसोर्टमा, ६० ओटा कोठा बुकिङ

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका माधवकुमार नेपाल समूहका नेताहरू चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा भेला भएका छन् । बुधबार निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएपछि नेपाल समूहका नेताहरु चन्द्रागिरी रिसोर्टमा भेला भएका हुन् ।

एमालेमा एकताका सन्दर्भमा वार्ता भइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल समूहका नेताहरुलाई त्यसतर्फ मोडिन नदिन र दायाँबायाँ हुन नदिनका लागि रिसोर्टमा भेला पारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गोप्य भेटवार्तापछि नेता माधवकुमार नेपाल पनि सोमबार साँझ चन्द्रागिरि हिल्स रिसोर्टमा पुगिसकेका छन् । राष्ट्रपति भण्डारी र नेपालबीच भेटवार्तामा के के गन्थन भयो भन्ने यकिन जानकारी सार्वजनिक भइसकेको छैन । तर, स्रोतका अनुसार राष्ट्रपतिले नेपाललाई एमाले विभाजन रोक्न आग्रह गरेका थिए ।

आयोगले दल सनाखतका लागि बोलाएको दुई दिनअघि सोमबार नै नेपाल समूहका नेताहरुलाई रिसोर्टमा बेड बुकिङ गरिएको छ भने नेपालनिकट केन्द्रीय सदस्य र सांसदहरू पुग्ने क्रम जारी रहेको छ । रिसोर्टमा बस्नका लागि ६० वटा कोठा बुकिङ गरिएको स्रोतको भनाई छ ।

यता, सोमबार एमालेको ओली समूह र नेपाल समूहमा नमिसिएका नेताहरूबीच १० बुँदेलाई कार्यान्वयन गरी पार्टी एकता गरेर अघि बढ्ने छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाल समूहमा नमिसिएका नेताहरु बालकोट पुगेका थिए ।

यसरी नेपाल समूहकै नेताहरुले पार्टी सनाखतका क्रममा प्रभावित पार्न सक्ने अवस्था उत्पन्न हुने देखिएपछि रिसोर्टमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *