काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो ।
प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो ।
स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयसमेत एआईजी थप्ने प्रक्रियामा सहमत बनेपछि प्रक्रिया थप अघि बढेको हो । मन्त्रिपरिषद् बैठकबाट एआईजी थपको निर्णय हुनेछ ।
यसअघि एआईजी थपको विषयमा अर्थ मन्त्रालयले भने बजेट अभाव देखाउँदै अड्काउँदै आइरहेको थियो । एआईजी दरबन्दी थपिँदा तीनमध्ये एउटा कोटा अर्थमन्त्री जनार्दन शर्मानिकटलाई दिने विषयमा उच्च तहमा सहमति बनेपछि दरबन्दी थपको प्रक्रिया अघि बढेको बताइन्छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।