प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सात सदस्यीय टोली गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता

काठमाडौं ! प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ ।

प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

कार्यशालाको दौरानमा प्रहरी महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रममा उहाँहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको थियो ।

उक्त कार्यशालामा साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण भएको थियो ।

कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *