आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता : आइजिपी कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा आइतबार कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनको श्रीवृद्धिमा लग्ने अठोट व्यक्त गरे।

प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको पनि उनले बताए। प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास र प्रतिबद्धता खाँचो रहेको औँल्याए।

व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारी उनले निर्देशन पनि दिए।

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, सङ्गठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानुनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए।

“क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो सङ्गठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने हुन्छ”, महानिरीक्षक सिंहले भने, “म यो सङ्गठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु ।”

गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, “अपराधीहरूलाई कानुनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासीनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *