प्रधानमन्त्री ओली साना डिजिटल कारोबार निशुल्क गर्ने तयारीमा

काठमाडौ ! सरकार साना डिजिटल कारोबार निशुल्क गर्ने तयारीमा जुटेको छ। सानो सानो कारोबारमा पनि शुल्क र भ्याट तिर्नुपर्ने गुनाँसो बढेपछि सरकार साना डिजिटल कारोबारलाई नि : शुल्क गर्ने तयारीमा जुटेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफुहरु साना डिजिटल कारोबारलाई नि : शुल्क गर्नलाई सम्बन्धित अधिकारीहरुसँग छलफल गरिरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्।

केहि दिनअघि प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले पनि पाँच हजार रुपैयाँसम्मका साना डिजिटल कारोबारलाई निशुल्क गर्नुपर्ने आफ्नो सुझाबमा प्रतिक्रिया दिनलाई आग्रह गरेका थिए।

साना डिजिटल कारोबारमा उपभोक्ताले शुल्क बापत दश रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याटको १ रुपैयाँ ३० पैसा गरेर ११ रुपैयाँ ३० पैसा तिर्दै आएका छन्। यसअघि शुल्क मात्रै लिंदै आएकोमा पुष्प कमल दाहाल नेतृत्त्वको तत्कालिन सरकारले चालू आर्थिक वर्षदेखि डिजिटल कारोबारमा पनि भ्याट लागू गरेको हो।