काठमाडौं ! मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ। यस्तो छ उहाँको शुभकामना सन्देश-
“तीनै तहका सरकारको प्रतिबद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा हार्दिक शुुभकामना व्यक्त गर्न चाहन्छुु ।
मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हो । समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको छ । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरु समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेका छन् । बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गर्दै जान प्रतिबद्ध छ । मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरुको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।
अन्त्यमा, मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई यस दिवसले अझ क्रियाशील भएर अगाडि बढ्न थप प्रेरणा दिन सकोस् भन्ने हार्दिक शुुभकामना व्यक्त गर्दछुु ।