प्रधानमन्त्री ओलीलाई चीनका प्रधानमन्त्री लीद्वारा बधाई तथा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री लि छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
चीनका प्रधानमन्त्री लीले आज पठाउनुभएको सन्देशमा नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
चीनका प्रधानमन्त्री लीले सन्देशमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एण्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रबर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधै मैत्रीपूर्ण चीन– नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ ।
चीन–नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गर्दै सन्देशमा कूटनीतिक सम्बन्ध कायम भएको ६९ बर्षदेखि दुबै देशले सधैं शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई पालन गर्दै आएका र यो समानता र विन–विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग नेपालस्थित चीनका राजदूत छङ सोङले मङ्गलबार शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । भेटमा दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाउन र व्यावहारिक सहकार्यलाई गति दिने विषयमा छलफल भएको थियो ।