आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट शुभकामना दिन अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो । उहाँले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गर्नुभएको छ ।
ओलीले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ । ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु’, ओलीले लेख्नु भएको छ ।