निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताउनुभएको छ ।

बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।’’

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गर्नुभएको थियो।