प्रधानमन्त्रीले पाए विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्‍यो । एक सांसद तटस्थ रहे । बैठकमा *२६८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे । विश्वासको मतको विपक्षमा ११० सांसदले मतदान गरे ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । प्रधानमन्त्रीका पक्षमा १५७ सांसदले मतदान गरे । उनी ०७९ पुस १० गतेदेखि गठबन्धन फेर्दै प्रधानमन्त्री छन् ।