शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो: प्रधानमन्त्री दाहाल

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् ।

नेपालीको राष्ट्रिय पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् ।

उनले स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

शेर्पा समुदायको मौलिक परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनबाट आशीर्वाद लिनका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ ।