भरतपुर महानगरलाई स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ बनाउने प्रधानमन्त्रीको उद्घोष

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनु भएको छ । आज बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।

“नयाँ भवन सञ्चालनमा आएपछि भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । त्यसर्थ यस निम्ति भविष्यमा सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ- प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहेको भन्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्थालगायत स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएको उल्लेख गर्नुभयो ।