प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । युगान्डाको कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री स्वदेश फर्कनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतले स्वागत गर्नुभएको थियो ।

विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेपालले जोड दिएको उहाँले बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गरी उहाँले सो जानकारी दिनुभएको हो । सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

उहाँले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने बताउदै शान्ति स्थापनामा जोड दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो ।

युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।