संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौं: प्रधानमन्त्री दाहाल

काठमाडौं !  प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुंग्याउने बताएका छन्।

आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरूसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए।

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबीसमेत गरे।

प्रधानमन्त्री दाहालले भने, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौं। संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ। अब फुल हाउसमा लैजाने तयारी छ। सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ। टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोसिस छ। राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु। मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ।’

उनले एक वर्षे उपलब्धी सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी पनि गरे।