विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन: प्रधानमन्त्री दाहाल

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताएका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आएका उनले त्यहाँका नेपालीहरूसँग भेटवार्ता गर्दै दु:खकष्ट बुझ्ने अवसर पनि पाएको बताए । ‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन । विदेशमा रहेका नेपालीहरूका दु:खकष्ट बुझ्ने अवसर पनि पाएँ,’ प्रधानमन्त्रीले भने, ‘अफ्रिकामा रहेका नेपालीहरू भेट्‌न पाउँदा खुसी लाग्यो ।’

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताएका थिए । ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन्,’ उनले भने, ‘हिजो मात्रै मैले भिजिट भिसाबारे केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ ।’