१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंगो लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ,’ उनले भने, ‘यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस्।’

प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन निर्देशन दिए ।