प्रधानमन्त्री प्रचण्ड छङ्तुमा

काठमाडौं ! चीन भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार चीनको ‘मध्य शरद राष्ट्रिय पर्व’ मनाउने अवसर पाएका छन् । गत शनिबार बिहान १०ः१० बजे चच्याङ प्रान्तको राजधानी हाङचौं पुगेर चीन भ्रमण सुरु गरेका प्रधानमन्त्रीको दैनिकी दौड प्रतियोगितामा भाग लिएको खेलाडीजस्तै भएको छ ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँहरुले मनाउने ‘राष्ट्रिय मध्य शरद पर्व’ सिचुवान प्रान्तको छङ्तुमा मनाउने छन् । शुक्रबार चीनमा राष्ट्रिय बिदा भए पनि सिचुवान प्रान्त छङ्तुका सरकारी अधिकारी र नेपाल मामलाका चिनियाँ जानकारहरु प्रधानमन्त्री प्रचण्डको स्वागत सत्कारका लागि दिनभर खटिने भएका छन् ।

‘चिनियाँहरुको बिदा भए पनि पाहुनाको स्वागत सत्कारका लागि कुनै कमी हुनुहुँदैन, यो हाम्रो चलन हो,’ प्रधानमन्त्री प्रचण्डको टोलीलाई सेवा दिन खटिएका तथा नेपाल मामलाका जानकार ताओ माले रातोपाटीसँग भने, ‘आज नेपालका प्रधानमन्त्रीले छङ्तुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।’

छङ्तुमा रहेको यो केन्द्र हेर्न लाखौँ चिनियाँ छङ्तु पुग्ने गर्दछन् । पाण्डाको लागि छङ्तु प्रसिद्ध सहर हो ।

शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय पार्टी सचिव वाङ सिआओसँग प्रधानमन्त्री प्रचण्डको वार्ता, र साँझ रात्रिभोज आयोजना हुनेछ ।

आज चीनको मध्य शरद पर्व परेकाले नेपाली पाहुनालाई रात्रिभोजमा चिनियाँ  खाना बाहेक ‘चिनियाँ मुन केक’को स्वाद चखाइने छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाबाट भाग लिएर हङकङ हुँदै गत शनिबार चीन आइपुगे लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको ‘दिवाभोज’मा सहभागी भएका थिए । त्यसपछि राष्ट्रपति सीसँगको भेट, सोही दिन साँझ १९ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण शुक्रबार साँझको रात्रिभोजपछि औपचारिक रुपमा सकिने छ ।