बहुधर्म र बहुसंस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुधर्म र बहुसंस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्ने अभिप्रेरित गर्ने बताएका छन्।

इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले विविधतायुक्त विशेषता बोकेको धार्मिक तथा सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रीय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले बकर इदको अवसरमा देशविदेशमा रहेका नेपाली मुस्लिम धर्मावलम्वीहरूमा शुभकामना व्यक्त गरे। उनले मुलुक धर्मनिरपेक्ष रहेको र विविधताभित्रको एकता नै राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन्।

‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

उनले यस पर्वले प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससमेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *