प्रधानमन्त्री दाहालको भारत भ्रमण आजबाट : यस्तो छ भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् ।  भारतीय र नेपाली पक्षले आवश्यक तयारी  पूरा भएको जनाएका छन्।

आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *