सोमबार सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्।

प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन।

सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन्।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्।

पार्टी पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘पर्सि ९सोमबार० सम्म क्याबिनेट विस्तार गरेर डेलिभरीका कुरामा अघि बढ्ने विषयमा छलफल भएको छ।’

पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई गठबन्धनका सबै दलसँग अलगअलग र सामूहिक छलफल गरी मन्त्रालय भागबन्डामा सहमति जुटाउन सुझाव दिएको जानकारी पौडेलले दिए। उनले भने, ‘छिट्टै क्याबिनेट विस्तार हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *