एमडीएमएस कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि कार्यान्वयनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्कालको लागि सरकारले स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्यौल र चौतर्फि विरोध भएपछि सरकारले तत्कालको लागि उक्त सिस्टम कार्यान्वयन नगर्न दिर्नेशन दिएको हो ।

योसँगै विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सारमा प्रज्ञानपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई रोक्न निर्देशन दिए ।

विदेशमा बस्ने नेपालीहरुले पनि चर्को रुपमा ‘नो रेमिट्यान्ट’ह्यासट्याग गर्दै विरोध जनाइरहेका छन् । एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि नेपालमा अवैद्य रुपमा भित्रिएका मोबाइल चल्दैनन्
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने जनाएको छ ।
एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो ।

विदेशबाट आउने नेपालीहरूले आफूले प्रयोग गर्न भनेर ल्याएका मोबाइल सेटहरू एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन प्राधिकरणले आह्वान गरेको छ ।

साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *