युवा दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिएका हुन्।

‘आज अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो। पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरे। उनले भने, ‘हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने संकल्प पूरा हुनेछ।’

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।