पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन जनसंगठनलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ ! प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रह गरेका हुन् । उनले भने,  ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’

एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिए ।

बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ ।