काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैरआवासीय नेपाली संघमा हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित नहुने बताएका छन् ।
सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिवेशनमा हारेका १७ जनाले अर्को संगठन बनायौं भन्दैमा एनआरएनए विभाजित नहुने प्रष्ट पारेका छन् ।
अदालतले नै आगामी कात्तिकसम्म यो नेतृत्वलाई बैधानिकता दिइसकेकाले अर्को भेला गरेकाहरुलाई पनि वार्ताबाट सहमतिमा ल्याउन प्रधानमन्त्री ओलीले आग्रह गरे ।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको प्रयासलाई सरकारले खारेज गरिदिएको छ । प्रधानमन्त्रीले भने- निर्वाचित अध्यक्ष छ, निर्वाचित कमिटी छ । अधिवेशनमा हारेकाहरू भेला भएर यो चाहिँ आधिकारिक एनआरएनए हो भन्ने कुरा शोभनीय होइन । यसलाई न त कोर्टले मान्यता दिन्छ न त सरकारले दिन्छ ।
केही पार्टीका मान्छे भेला भएर यो चाहिँ एनआरएनए हो भन्ने कुरा पनि कतै मान्य होला त रु यो संस्थाको मर्यादा जोगाउनुस्, पराजित भएकाहरुले असहिष्णु भए भन्दैमा तपाईंहरू निर्वाचित मान्छेले त्यस्तै हुने होइन ।
उनीहरूलाई सम्झाइ-बुझाइ गरेर संस्थालाई बलियो बनाउनुस् । प्रधानमन्त्रीले अहिले एनआरएनए विवाद सर्वोच्चको पूर्ण इजलासमा गएको भन्दै यो नेतृत्वले समयभित्रै अधिवेशन सम्पन्न गर्न आग्रह समेत गरे । शेष घलेप्रति लक्षित गर्दै श्रीमानका लागि बेग्लै विधान,श्रीमतीका लागि फेरि अर्को विधान संशोधन गर्ने,हारेकाले म अध्यक्ष हुँ भन्ने प्रवृतिले संस्था बलियो नहुने प्रधानमन्त्रीले बताए ।
हालै शेष घलेको सहभागितामा भएको कांग्रेसको एउटा पक्ष र माओवादीको भेलाले बद्री केसीसँग पराजित भएका महेश श्रेष्ठलाई अध्यक्ष बनाउँदै एनआरएन आधिकारिकताको दावी गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवा र माओवादी अध्यक्ष प्रचण्डले आधिकारिकता दिएको सो नेतृत्वलाई प्रधानमन्त्रीले प्रष्ट शब्दमा खारेज गरेका छन् ।