प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन्।

दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको प्रदेशसभा सचिवलायले जनाएको छ।  प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्।

एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो।

नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ। प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो।

ओली आज पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा ओर्लने छन्। पौने १२  बजे विश्वविद्यालयका कूलपतिको हैसियतमा उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च‌को शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनकोसमेत उद्घाटन गर्ने छन्।

उनले पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक एवं १३ औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्ने छन्।

दिउँसो साढे २ बजे कोशी प्रदेश सभामा उनको विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।  उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ।