प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौँ- चीन भ्रमण रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र नेपाल- दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न चिनियाँ राष्ट्रपति सी चीनफिनलाई निमन्त्रणा दिनु भएको छ ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।

मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुभएको थियो । साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उहाँले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।