आयल निगमले डिजेल पेट्रोलको मूल्य नघटाउने

काठमाडौं ! ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटेर आएपनि नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगमले आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ ।

निगमका अनुसर आज फागुन १७ मा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम प्रति लिटर पेट्रोलमा रु. १.२१, डिजेलमा रु.५.०५, मट्टितेलमा रु. ३. ४०, हवाई इन्धनमा रु. ७.०३ ले घटेको र एल. पी. ग्यासमा प्रति सिलिण्डर ३३९.०६ ले बढेर आई एल.पी. ग्यासमा मात्र प्रति सिलिण्डर रु. ६३५.५० घाटा भई समग्रमा निगमलाई केही नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन भईरहेको निगमले जनाएको छ ।

निगमका अनुसार निगमले ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिव रु. १६ अर्व तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै आईरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य केही घट्ने क्रममा रहेको तथा एल.पी.ग्यासको मूल्य उच्च दरले बढेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेको निगमले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *