काठमाडौं ! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ दरले मूल्य बढाइएको हो। मूल्य वृद्धि आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमले क्षेत्र अनुसार मूल्य निर्धारण गरेको छ। तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल १५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण मूल्य बढाउनुपरेको जनाएको छ। निगमका प्रवक्ता अनुसार, “यस विषम परिस्थितिबीच नेपाल आयल निगमले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ। यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।”
निगमले अन्तर्राष्ट्रिय बजारको प्रभाव, आपूर्ति व्यवस्थापन र मूल्य समायोजनको प्रक्रिया ध्यानमा राखेर सबै वर्गका उपभोक्तालाई सहज मूल्यमा आपूर्ति गर्न निरन्तर काम गरिरहेको जानकारी पनि दिएको छ।
