आजबाट बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं ! नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य पुनः वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँले मूल्य बढाएको हो ।

निगमले मूल्य समायोजनको कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य अन्तर र निगमको घाटा कम गर्नुपर्ने अवस्थालाई जनाउँदै आएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा यो मूल्य १५८ रुपैयाँ र चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १४३ रुपैयाँ, सुर्खेत र दाङमा १४२ रुपैयाँ तथा अन्य स्थानहरूमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

यता, हवाइ इन्धनमा भने केही राहत दिइएको छ । आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ३ रुपैयाँले र अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ ।

निरन्तर मूल्यवृद्धिका कारण सार्वजनिक यातायात, खाद्यान्न ढुवानी तथा उपभोग्य वस्तुहरूको मूल्य समेत बढ्ने खतरा देखिएको छ । यस्तै, नेपाल आयल निगमले मूल्य समायोजनलाई स्वचालित मूल्य प्रणालीको आधारमा गरिएको भन्दै सार्वजनिक रूपमा जानकारी गराएको छ ।