नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा प्रवेश

काठमाडौं ! नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का श्रद्धेय महासचिव शंकर पोखरेल ज्युले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गर्नुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताउनुभयो । उहाँले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले छ÷ छ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? प्रश्न गर्दै राजनीतिक धू्रवीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले वार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिनुभयो । पार्टी प्रवेशबारे सङ्क्षिप्त भनाइ राख्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विना शर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले सात बर्ष अघिसम्म नेकपा (एमाले)मै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताउनुभयो । नेकपा (एमाले) उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशनयता उदयपुरमा विभिन्न दलका २७२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य मञ्जु चौधरी लगायतको उपस्थिति रहेको थियो ।