लोसपा धनुषाका सहसचिव श्रेष्ठसहित नौजना युवा एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)धनुषा जिल्ला कार्य समितिका सहसचिव सुनिल कुमार श्रेष्ठ ‘सानु’ लगायत धनुषाका नौजना युवा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा र अविर लगाई स्वागत गर्नुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा हुनुहुन्छ ।
नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले  नेकपा (एमाले) देश बनाउने महान् उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले गरिबी हटाउने, सुशासन कायम गर्ने, स्वाधीनताको रक्षा गर्ने, राष्ट्रको बृहत्तर हित रक्षा गर्ने पार्टी यो देशमा एमालेमात्र रहेको र यस पार्टीको ध्येय नेपाली जनतालाई सुखी बनाउने रहेको बताउनुभयो ।
उहाँले नेकपा (एमाले)को महान् उद्देश्य सफल बनाउने यात्रामा जोडिनुभएका युवाहरूलाई यथोचित जिम्मेवारीका साथ सक्रिय बनाइने विश्वास दिलाउँदै नवप्रवेशीहरूलाई सङ्गठित गरी सक्रिय बनाउन सम्बन्धित कमिटीलाई निर्देशन दिनुभयो ।