राष्ट्रिय सभाका पूर्व सांसद पाण्डे एमालेमा प्रवेश

कपिलवस्तु । राष्ट्रिय सभाका पूर्व सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेस परित्याग गरी पुुनः एमालेमा प्रवेश गर्नुभएको छ ।
कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।
नेता पाण्डेले विगतमा लोकप्रिय पार्टी नेकपा (एमाले) छोडेको घटना आफ्नो राजनीतिक जीवनको गम्भीर पाठ भएको जनाउनुभएको छ । एमाले प्रवेशका अवसरमा आज उहाँले एक वक्तव्य प्रकाशित गरी निःशर्त एमालेमा समाहित भएको जनाउनुभएको छ । पाण्डेले आगामी दिनमा एउटा इमान्दार कार्यकर्ताको रुपमा पार्टीले दिएको जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँलाई नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय गिरधारीलाल न्यौपाने, बलराम अधिकारी, कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वृजेशकुमार गुप्ता, एमालेका कपिलवस्तु जिल्लाका अध्यक्ष डम्मर शर्मा लगायतका नेताहरूले नेकपा (एमाले) कपिलवस्तु जिल्ला कार्यालयमा कार्यक्रम आयोजना गरी  पार्टीमा स्वागत गर्नुभयो ।
ओखलढुङ्गामा माओवादी, काँग्रेस र नेकपा एसका २६५ जना एमाले प्रवेश
यसैबीच, ओखलढुङ्गाको जन्तरखानीका माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका २६५ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कटवाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो ।
नवप्रवेशीहरुले एमाले सरकारमा भएका विकास निर्माणका योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *