प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधिसभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ ।

समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन् । संसदमा प्रधानमन्त्री ओलीको यो पहिलो प्रश्नोत्तर हो । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।