काठमाडौं ! संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान बिहान ११ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएकाे छ।
आजकाे बैठक चालू अधिवेशनको अन्तिम बैठक हो। आजै राति १२ बजेबाट चालु हिउँदे अधिवेशनको अन्त्य गर्ने तयारी छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको थियाे।
गत माघ २२ गतेबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनले तीनवटा विधेयकमात्र पारित गरेको छ।
प्रतिनिधिसभाका २२ र राष्ट्रियसभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित भएका हुन्।
आजकाे बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यसैगरी, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरूसम्बन्धित मन्त्रीहरूबाट टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।