प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं– संघीय संसदअन्तर्गत् प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ।

आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन्।

यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, उप-प्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको छ ।  सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे गठन नभएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ ।