राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने

काठमाडौँ ! राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ।

संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो।

नेपालको संविधान जारी भएपछि २०७४ सालमा भएको राष्ट्रियसभाको पहिलो चुनावबाट निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। तिमिल्सिनाको कार्यकाल सकिएसँगै अध्यक्ष पद पनि रिक्त हुने भएकाले सचिवालयले आठ दिनपछि नयाँ अध्यक्ष चयन गर्ने गरी तालिका निर्माण गरेको हो।

माघ ११ गते भएको चुनावमा १९ जना सदस्य निर्वाचित भएर आइसकेका छन्।

चुनावका लागि फागुन २७ गते कार्यतालिका सार्वजनिक गरिनेछ।

राष्ट्रियसभाको चुनावका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ। ठूलो दलको हैसियत र गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले सरकारको नेतृत्व छाड्दा उच्च पदमा आफ्नो प्रतिनिधि नहुने जिकिर गर्दै माओवादीले अध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

त्यस्तै, कांग्रेसले अब राष्ट्रियसभामा आफ्नो दाबी स्वभाविक हुने अहिले नै संवैधानिक परिषदमा आफ्नो प्रतिनिधि नभएको बताउँदै आएको छ। एकीकृत समाजवादीले पनि एउटा संवैधानिक पद आफूलाई दिने गठबन्धनको पूर्वसहमति कार्यान्वन हुनुपर्ने बताएको छ।