राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं ! राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ।

आज पुस २२ गतेका दिन अन्तिम मतदाता प्रकाशन हुने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाकारी दिएको छ।

‍आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी नामावली समेत प्रकाशन गरेको थियो। पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरिने भएको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन्।

प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको हो। यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ।

प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदाधवधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित बाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ।