प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज सभामुखले सदनलाई गराउनेछन् ।

यसैगरी, हिजो नै तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेस गर्ने  तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने कार्यसूचीलाई यथावत् राखिनेछ ।

यता प्रमुख प्रतिपक्षी दल एमालेले भने सुनकाण्डमा सरकारले उच्चस्तरीय छानबिन समिती नबनाएसम्म संसद चल्न नदिने बताएको छ। हिजो सोमबारपनि एमालेले संसद चल्न दिएन। सरकार भने यो मामलामा उदासीन देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *