मिटरब्याजसम्बन्धी विधेयक पारित

काठमाडौं ! प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । यो मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक हो ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले केही संशोधनसहित यो विधेयक सर्बसम्मत पारित गरेको हो। प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरिएको छ । विधेयकको  दफाबार  छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही संशोधन स्वीकार गरिएको जानकारी दिएका हुन् ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० ल्याएको थियो ।  संविधान अनुसार यो अध्यादेशको प्रतिस्थापन विधेयक ६० दिनभित्र संसदको दुवै सदनबाट पारित गर्नु पर्ने व्यवस्था थियो। तर ६० दिनभित्र दुवै सदनबाट पारित नभएपछि सो अध्यादेश स्वत निष्क्रिय भएको थियो ।  अध्यादेश निष्क्रिय भएको २ सातापछि विधेयक पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनको रुप लिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *