आजबाट बजेटमाथि छलफल हुँदै : बैठकको प्रारम्भमै एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । बजेटपछि प्रतिनिधिसभाको बैठक आजबाट बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने जनाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले गर्दा बजेट वक्तव्यपछि छलफल रोकिएको थियो। आजको बैठक सुरु हुने बित्तिकै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको देशभर विरोध भइरहेको छ । यसबारे एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *