सत्तापक्ष बनेको काङ्ग्रेसपनि प्रतिपक्षी बेन्चको होडबाजीमा : एमालेको दावी स्वभाविक

काठमाडौँ ।  नयाँ सरकार गठनका बेला प्रमुख राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि होडबाजी चल्नु स्वाभाविक हो। प्रधानमन्त्रीको कुर्सी मात्र नभएर विपक्षी कुर्सीमा को बस्ने भन्ने होडबाजीसमेत कहिलेकाहीँ पेचिलो बन्ने रहेछ भन्ने प्रमाण प्रतिनिधिसभाको बुधबार बसेको बैठक बनेको छ।

प्रतिपक्षी को भन्ने टुंगो लाग्न नसक्दा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ। फागुन १५ गते सरकारबाट बाहिरिएको एमालेले आफ्ना लागि विपक्षी बेन्च माग गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक सूचना जारी गरी १८ दिन पछाडि धकेलिएको हो।

प्रतिनिधिसभा निर्वाचनअघिको पाँच दलीय गठबन्धन अहिले परिवर्तन भएर आठ दलीय बनेको छ। तर सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र जनमत पार्टीबाहेक नेपाली कांग्रेससहितका ६ दल सरकारमा सहभागी छैनन्। उनीहरू सबै विपक्षी बेन्चमा बस्दै आएका छन्। त्यसले गर्दा सत्तापक्षमा कम र विपक्षमा धेरै संख्या देखिने भएपछि संसद् बैठक सूचना टाँसेर सारिएको हो। बुधबार १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधत्व गर्ने दलका नेतासँग संसद् बैठकका एजेन्डा तय गरी कार्यसूचीलाई अन्तिम रूप दिन छलफल गरेका थिए।

गत १५ गते सरकार छाडेको एमालेले प्रतिपक्षमा बस्ने अडान लिएको थियो। तर सरकारलाई विश्वासको मत दिए पनि समर्थन नगरेको बताउँदै प्रतिपक्षमा बसेको कांग्रेसले आफू सरकारमा सहभागी नहुँदासम्म प्रतिपक्षमा बस्ने अडान कायम राखेको थियो। संसद्मा कांग्रेसको ८९ सिट रहेको छ भने एमालेको पनि ७९ सिट रहेको छ। संसद्मा प्रतिनिधत्व गर्ने ठुला दलले प्रतिपक्षमा बस्न आ–आफ्नो दाबी गरेपछि सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहालको सहमतिमा चैत ५ गतेसम्मका लागि बैठक स्थगित गरेको सूचना जारी गर्न लगाएका थिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *