सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज दिउसो एक बजेदेखि चार बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् । सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले उम्मेदवार बनाउने निश्चित छ । एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ । नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुंगो लागेको छैन । आज नै सवा चार बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोली बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि भोली प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ । छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ । एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा एक सय ३८ सदस्यको आवश्यकता पर्नेछ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ सात गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *