संघीय सांसदहरूको शपथ यसै साता हुने

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने तयारी छ ।

तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्छ । ज्येष्ठ सदस्यको पहिचान संसद सचिवालयले गरिसकेको छैन ।

निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *