आज प्रतिनिधि सभाको बैठक बस्दै : राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पेश हुने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पेश हुँदैछ ।

आइतबार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नौ पृष्ठ लामो सन्देशसहित नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाउनु भएको थियो । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयकसहितको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले विधेयक फिर्ता आएको जानकारी दिने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचिको पहिलो नम्बरमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने उल्लेख छ ।

‘प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने उल्लेख गरिएको छ ।

साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतबार साँझ प्रतिनिधि सभामै फिर्ता पठाउनु भएको थियो ।

विधेयकमा आवश्यक सुधारका ठाउँहरू समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुनः प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा प्रतिनिधिसभालाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *