संघिय दुवै सदनको बैठक बस्दै : नीति तथा कार्यक्रम पास गर्ने तयारी

काठमाडौं ! सङ्घीय संसद्का दुवै सदनको आज बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरूको जवाफ दिनेछन् । साथै, प्रस्तुत नीति तथा कार्यक्रममाथि दर्ता गरिएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ ।

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको थियो ।

संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीको जवाफपछि सबै संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् र नीति तथा कार्यक्रम पारित गरिनेछ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव दुवै सदनमा पेश गर्ने तय भएको छ ।

आजको बैठकसँगै सरकारको नीति तथा कार्यक्रम विधिवत रूपमा पारित हुने प्रक्रियाले पूर्णता पाउनेछ भने आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आधार तयार हुने छ । संसद्का दुवै सदनमा आजको बैठकलाई राजनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।