काठमाडौं- आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा रहेको संघीय संसद भवनमा बस्दैछ ।
बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नु हुने जनाइएको छ, साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै जारी भएका अध्यादेशहरु पेश गर्नुहुने सम्भावित कार्यसूची पनि रहेको छ ।
यसैगरी अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची पनि छ । वैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नुहुनेछ ।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।