विदेशमा बस्ने नेपालीलाई एनआरएन अध्यक्ष बद्री केसीको आग्रह : नेपालमा लगानी गर्नुस

काठमाडौं ! गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ l
डा. केसीले लिभरपुल नेपाली समाज यूकेद्वारा आयोजित नागरिकता, सम्पत्ति, भूपूगोर्खाको अधिकार, र लगानीसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उक्त आग्रह गर्नु भएको हो।
उहाँले भन्नुभयो, “नेपालसँगको कनेक्सनका लागि नेपालमा लगानी गर्न जरुरी छ। विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके देश समृद्धिको बाटोमा लाग्छ र दोस्रो पुस्ताको कनेक्सन रहन्छ। त्यसैले नेपालमा लगानी गरौं।”
डा. केसीले नेपालमा लगानी लगायत च्यारिटीका कामहरू गर्न पनि अनुरोध गर्नुभयो ।
डा. केसीले गैरआवासीय नेपाली संघको पहलका कारण नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा भएका कठिनाइहरू छिट्टै हट्ने उल्लेख गर्नुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपालमा आफ्नो सम्पत्ति राख्न कुनै सीमा नहुने र एनआरएन नागरिकताले सम्पत्तिको पूर्ण सुरक्षा गर्ने पनि बताउनुभयो।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली अभियानमा जोडिन आह्वान गर्नु भयो।
समाजका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई लगायतले आ–आफ्ना भनाइ राखेका थिए।